कञ्चनपुरका किसानलाई उखु बेच्न भ्याई-नभ्याई

होमपेज / कृषि / समाचार /
नगदेबाली घरमै रोजगारी
कञ्चनपुरका किसानलाई उखु बेच्न भ्याई-नभ्याई
  • रेडियो सुदूर सञ्चार
  • २१ माघ २०८२ (१८ घण्टा अघि)
  • १४२

ईसु नेगी, कञ्चनपुर -

यस वर्ष कञ्चनपुरका उखु किसान खेतबारीमा अत्यधिक व्यस्त देखिएका छन्। नगदेबालीका रूपमा रहेको उखु काट्ने र उद्योगसम्म पुर्‍याउने चटारोले किसानलाई बेच्नसमेत भ्याईनभ्याई भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर र पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा सञ्चालित चिनी उद्योग तथा बेलडाँडीको केदार गुड उद्योगसहित अन्य गुड उद्योगहरूले क्रसिङ्ग सुरु गरेपछि बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी लगायत क्षेत्रका किसान अहिले बिहानदेखि साँझसम्म उखु काट्न खेतमै व्यस्त छन्। उखु काटेलगत्तै उद्योगमा पुर्‍याउनुपर्ने भएकाले किसानलाई समयको चाप बढेको छ।

सरकारले चालु आर्थिक वर्ष २०८२/०८३देखि उखुको समर्थन मूल्य वृद्धि गरेको छ। गत वर्ष प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकिएको उखुको मूल्य यस वर्ष ३५ रुपैयाँ बढाएर ६२० रुपैयाँ पुर्‍याइएको छ। साथै प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएपछि किसानहरू उत्साहित भएका छन्।

उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएको बताए। ‘गत वर्षभन्दा मूल्य बढेको छ, यसमा हामी खुसी छौँ,’ उनले भने, ‘तर सरकारले अनुदान वितरणमा ढिलासुस्ती गर्नु हुँदैन। गत वर्ष अनुदान भुक्तानीका लागि केन्द्रसम्म आन्दोलन गर्नुपर्ने अवस्था आयो।’

नगदेबाली उखु खेती कञ्चनपुरका किसानका लागि घरमै रोजगारीको माध्यम बनेको छ। चिनी उद्योग स्थापना भएपछि दक्षिणी क्षेत्रका किसानको जीवनस्तरमा आर्थिक सुधार आएको स्थानीय किसानहरू बताउँछन्।

१५ वर्षअघि बेलौरीमा र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखु खेती विस्तार भएको हो। पहिले उद्योग नहुँदा किसानले सस्तो मूल्यमा भारतमा उखु बेच्नुपर्ने बाध्यता थियो। अहिले भने उद्योग नजिकै हुँदा समस्या क्रमशः घट्दै गएको छ।

बेलडाँडी गाउँपालिका–४ वैवाहका युवा किसान दिलप्रसाद शर्माले उखु खेतीलाई स्वरोजगारको मुख्य आधार बनाएको बताए। ‘पहिले गाउँमा गुर उत्पादन गर्ने कोलु मात्रै थियो, अहिले दुई ठूला चिनी उद्योग सञ्चालनमा आएका छन्,’ उनले भने, ‘विदेश जानुभन्दा अरूको जमिन भाडामा लिएर उखु खेती गर्छु।’

शर्माले कञ्चनपुरमा ८ बिघा र बर्दियामा ६ बिघा जमिनमा उखु खेती गर्दै आएको र वार्षिक करिब १ करोड रुपैयाँ कारोबार हुने जानकारी दिए। उनले सरकारलाई युवालाई उखु खेतीमा आकर्षित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे।

पुनर्वास नगरपालिका–९का उखु किसान तथा पूर्व वडाध्यक्ष नारायणप्रसाद जैसीले उखु खेतीलाई आर्थिक समृद्धिको आधार भने। ‘स्वदेशमै धेरै उखु उत्पादन गरेर चिनी निर्यात गर्न सके वैदेशिक व्यापार घाटा कम हुन्छ,’ उनले भने। अढाई दशकदेखि उखु खेती गर्दै आएका जैसीले ५ बिघा जमिनमा उखु खेती गर्दै आएका छन्।

बेलौरी नगरपालिका–१० सडकघाटका किसान चक्रबहादुर कडायतले ३२ बिघा जमिनमा उखु खेती गर्दै आएका छन्। ‘पहिले भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले उद्योग सञ्चालनले सहज भएको छ,’ उनले भने। कडायतले वार्षिक ५०–६० लाख रुपैयाँ बराबरको उखु बिक्री हुने बताए। तर मल, बिउ र औषधिको अभाव किसानका लागि चुनौती बनेको उनको भनाइ छ।

उखु किसानहरू उद्योगबाट भुक्तानी २–४ साताभित्र पाइने भए पनि सरकारी अनुदान प्रक्रिया भने झन्झटिलो रहेको गुनासो गर्छन्। बेलडाँडी–४का किसान रनीसिंह धामीले भने, ‘उद्योग आएपछि खेती बढाएँ, तर अनुदान लिन धेरै झन्झट छ।’ लालझाडी–३ नन्दगाउँका किसान बहाली रानाले पनि उद्योग स्थापना भएपछि उखु खेती विस्तार भएको बताए। ‘उखु खेतीले नगद प्रतिफल दिन्छ, त्यसैले अरू खेतीभन्दा उखु रोजेको हुँ,’ उनले भने।

कञ्चनपुरमा चिनी उद्योग सञ्चालनसँगै उखु खेती किसानको आर्थिक आधार बन्दै गएको छ। मूल्य वृद्धि र अनुदानले केही राहत दिएको भए पनि अनुदान वितरण प्रणाली सरल बनाउने, मल–बिउ उपलब्ध गराउने र किसानमैत्री नीति ल्याउनुपर्ने आवश्यकता किसानहरूले औँल्याएका छन्।

अन्तिम अध्यावधिक: २१ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस