बर्दिया -
बर्दियामा भारतबाट ब्राउनसुगर लिएर नेपालतर्फ आउँदै गर्दा दुईजना युवा पक्राउ परेका छन्। भारतीय सिमावर्ती बलै बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका युवाहरू बढैयाताल गाउँपालिका –७ कण्ठपुर चेकपोष्टमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा ७ सिमलघारी बस्ने २९ वर्षिय राजेश दर्लामी र २४ वर्षिय रमेश खनाल रहेका छन्। पैदल हिँडिरहेको समयमा शंका मानी चेकजाँच गर्दा रातो रंगको प्लाष्टिकमा धागोली बेरी बाँकेको १ पुडिया ब्राउन सुगर फेला परेको छ।
प्लाष्टिक हटाएर तौल गर्दा ब्राउन सुगर चारसय ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताउनुभयो।
पछिल्लो समय भारतीय सिमावर्ती क्षेत्र बर्दिया कैलाली कञ्चनपुर लगायतका जिल्लामा लागूऔषध सहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ।