Advertisement
Skip This
ट्रेण्डिङ

शोभाताल : तीन दिने हस्तलेखन तथा पठन सीप अभियान सम्पन्न

होमपेज / विविध / समाचार / स्वास्थ्य/शिक्षा /
मुक्त कमैया शिविरका बालबालिकामा आत्मविश्वास र सिर्जनशीलताको उज्यालो
  • चन्द्रिका चौधरी
  • १ बैशाख २०८२ (६ महिना अघि)
  • ५००

बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–५, शोभातालमा तीन दिने हस्तलेखन, पठन सीप र सिर्जनात्मक शिक्षामूलक अभियान सम्पन्न भएको छ।

घरलाई विद्यालय, विद्यालयलाई घर, अभिभावकलाई शिक्षक, शिक्षकलाई अभिभावक बन्न थप प्रेरित गर्ने हाम्रो प्रयास भन्ने मूलनाराका साथ (चैत्र २९ देखि ३१ सम्म) सञ्चालित तीन दिने सुन्दर हस्तलेखन तथा पठन सीप अभियान सम्पन्न भएको हाे।

सीपमूलक अभियानमा स्थानीय मुक्त कमैया शिविरका बालबालिकाको उल्लेखनीय सहभागिता देखिएको थियो।

श्री शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा, सामाजिक सेवा केन्द्रको सहकार्य र क्रिएटिभ स्किल सारथी प्रा.लिको प्राविधिक संयोजनमा अभियान सञ्चालन गरिएको हो।

तालिममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले हस्तलेखन सुधार, पठन प्रविधि, संवाद क्षमता र सृजनात्मक अभिव्यक्तिको अभ्यास गरेका थिए।

विद्यार्थीको अनुभव

कक्षा ७ मा अध्ययनरत सरस्वती चौधरीले सीपपछि आत्मविश्वास बढेको बताइन्। “अब कक्षामा खुला रूपमा बोल्न सक्छु, लेख्न पनि सुधारिएको छ,” उनले भनिन्।

यस्तै, सीपमा सहभागी विद्यार्थी रमेश चौधरीले सिकाइ रमाइलो भएको अनुभव सुनाए। “पहिलाजस्तो डर र झर्को छैन, सिक्न मन लाग्छ,” उनले भने।

कार्यक्रम संयोजक पर्शुराम नारायण चौधरीका अनुसार मुक्त कमैया शिविरमा बसोबास गर्ने विद्यार्थीहरूको क्षमता विकासका लागि यस्ता तालिमहरू आवश्यक छन्। “आफ्नै समुदायमा सशक्तिकरणको अभ्यास भएको छ,” उनले भने।

क्रिएटिभ स्किल सारथी प्रा.लि. का प्रबन्ध निर्देशक मोहन जैशीले बालबालिकामा आत्मबल र व्यवहारिक सोच विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। “हाम्रो प्रयास केवल अक्षर सुधार होइन, जीवन सुधार पनि हो,” उनले भने।

कार्यक्रम समापन समारोहका प्रमुख अतिथि बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले भने,“शिक्षा भनेको केवल किताबी ज्ञान मात्रै होइन, व्यक्तित्व विकासको आधार पनि हाे। यस्ता कार्यक्रमहरू नगरपालिकाको प्राथमिकतामा पर्छन्।”

आयोजकका अनुसार, शिक्षा र सामुदायिक सचेतनासँगै वन संरक्षणमा पनि सीपले सघाउ पुर्याउनेछ।कार्यक्रममा सहभागीहरुलाई शुभकामना सहित उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

अन्तिम अध्यावधिक: १ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस