सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटक

होमपेज / पर्यटन /
  • रेडियो सुदूर सञ्चार
  • ९ बैशाख २०८२ (१ हप्ता अघि)
  • २००

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । हिजो मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार हिजो ६ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताउनुभयो ।

वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउनसमेत मुश्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो ।

मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एअर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल(टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उहाँको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेसँगै निकुञ्जको राजस्व सङ्कलन बढेको छ ।

अन्तिम अध्यावधिक: ९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस