बेलाैरी, कञ्चनपुर -
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवाहरूको क्रान्तिकारी संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसियल) बेलौरी नगरको दोस्रो नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले राजेश भट्टको नेतृत्वमा ३७ सदस्यीय नयाँ नगर समिति गठन गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी (तुफान)ले युवा शक्ति देशको परिवर्तनको मेरुदण्ड भएको भन्दै नवगठित समितिलाई सक्रिय, इमानदार र अनुशासित रुपमा अघि बढ्न निर्देशन दिएका छन्। उनले भने, “समाज रुपान्तरणका लागि युवाको भूमिका निर्णायक हुन्छ, वाईसियल त्यसको नेतृत्वकारी शक्ति हो।”
सर्वसम्मत नेतृत्व चयन
वाईसियल बेलौरी नगरको नेतृत्व सर्वसम्मत ढंगले चयन गरिएको हो। नवगठित नगर समितिमा अध्यक्ष राजेश भट्ट, उपाध्यक्षहरूमा विरेन्द्र चौधरी, अशोक राना, र नारदमुनी राना, सचिवमा प्रकाश चौधरी, सह-सचिवहरूमा गोविन्द भुल, मनिराम चौधरी, गीता चौधरी, र कोषाध्यक्षमा मानमती चौधरी रहेका छन्। अन्य सदस्यहरू पनि विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी समावेश गरिएकाे नेकपा माओवादी केन्द्र बेलाैरी नगर सचिव सुन्दर चाैधरीले बताए ।
संगठन विस्तारसँगै नेतृत्वमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ सशक्त समिति गठन गरिएको उनको भनाइ छ।
अधिवेशनमा प्रभावशाली उपस्थिति
नगर अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री ओम विक्रम भट्ट (सरल), नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य अमर सिंह चाैधरी, बेलौरी नगरप्रमुख पोतीलाल चौधरी, वाईसियल नेपालका केन्द्रीय सचिवद्वय अर्जुन सिंह साउँद र नवराज ऐर, जिल्ला इन्चार्ज तुफान, संयोजक तिलक जप्रेल, माओवादी नगर अध्यक्ष लालबहादुर चाैधरी, नेता कैलाश सिंह विष्ट, राजु बहादुर कुँवर लगायतका जिल्ला तथा स्थानीय तहका वाईसियल नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नेताहरूले वाईसियललाई देश र जनताको पक्षमा सशक्त भूमिका खेल्न आग्रह गरे। नेता सरलले भने, “वाईसियल कुनै एउटा पार्टीको मात्रै होइन, यो परिवर्तनको आन्दोलन हो। यसले समाज, राष्ट्र र भविष्य निर्माणको एजेण्डा बोकेको छ।”
युवाशक्तिलाई संगठित बनाउने प्रतिवद्धता
नव निर्वाचित अध्यक्ष राजेश भट्टले कार्यभार सम्हाल्दै वाईसियललाई युवाको हकअधिकार, शिक्षा, रोजगारी, स्वास्थ्य, र सामाजिक न्यायका सवालमा अग्रसर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
"आजको युवा जागरुक छ, जिम्मेवार पनि छ। हामी परिवर्तनको मोर्चामा होमिनेछौं," उनले भने।
उनले लागूऔषध, बेरोजगारी, महिला हिंसा, जातीय विभेद, र भ्रष्टाचारजस्ता समस्याविरुद्ध वाईसियलले जनस्तरमा संघर्ष अघि बढाउने स्पष्ट पारे।,
समाजमा संगठनको भूमिकाको अपेक्षा
कार्यक्रममा सहभागिहरूले वाईसियलको भूमिकालाई केवल नारामुखी नभई व्यवहारमा लागू हुनेखालको बनाउनुपर्ने आवश्यकता औंल्याए। यस्ता अधिवेशनहरूबाट संगठनले स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा सबै वक्ताहरू एकमत देखिए।
नगर समितिका नव नियुक्त पदाधिकारी र सदस्यहरूलाई माला लगाई सम्मान गरिएको थियो। कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको जनाइएको छ।