भारत र पाकिस्तानबीच युद्धविराम

होमपेज / अन्तर्राष्ट्रिय / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २७ बैशाख २०८२ (१ दिन अघि)
  • १९४

भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावका बीच दुवै मुलुकले आज (शनिबार)  साँझ ५ बजेदेखि लागू हुनेगरी सैनिक गतिविधि रोक्ने सहमति गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमति भएको घोषणा गरेका हुन् । ट्रम्पले शनिबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । विवेक र सूझबूझ प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ ।’

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेसन्स प्रमुख (डीएमजीओ)  ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।

छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ । पाकिस्तानका विदेश मन्त्री इसहाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन् ।

डारका अनुसार, यो सम्झौना पछि भारत र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय गरिएको छ।भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकी आक्रमणपछि दुई देशबीचको सम्बन्ध एकाएक तिक्त बनेको थियो । त्यसको जवाफस्वरूप भारतले पाकिस्तानभित्रका आतंकी शिविरहरूमाथि हवाई आक्रमण गर्‍यो, जसपछि पाकिस्तानले पनि भारतका सैन्य र नागरिक संरचनामाथि ड्रोन र मिसाइलमार्फत आक्रमण सुरु गर्‍यो ।

बिनाशकारी युद्धको अवस्था निम्त्याउने गरी बढिरहेको यो तनाव अन्ततः अमेरिकी पहलमा थामिएको देखिएको छ । शनिबार साँझदेखि लागु हुनेगरी हुने उक्त युद्धविरामको कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ भन्नेप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको चासो रहनेछ ।

अन्तिम अध्यावधिक: २७ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस