दिनेश चाैधरी, बेलाैरी / कञ्चनपुर
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १७औँ गाउँसभाबाट स्थानीय सरकारको नेतृत्वमा आगामी वर्षका लागि कुल ५४ करोड ५० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरिएको हो।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार चालूतर्फ ३७ करोड ४३ लाख रुपैयाँ र पूँजीगततर्फ १७ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्रोतको विवरण दिँदै उनले आन्तरिक आम्दानीतर्फ १ करोड, राजस्व बाँडफाँडतर्फ ७ करोड ९४ लाख ९० हजार, संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण ३१ करोड १४ लाख, प्रदेश सरकारबाट २ करोड ४१ लाख ५४ हजार, र सामाजिक सुरक्षा भत्ता शीर्षकमा १२ करोड रुपैयाँ रहेको बताए।
दलदल जमिन पुनःउत्पादन कार्यक्रम पहिलो प्राथमिकतामा
गाउँप्रमुख रानाले यस वर्ष बेलडाँडीको हजारौँ विघा उर्वर भूमि दलदलमा परिणत भई विगतका वर्षहरूदेखि प्रयोगविहीन रहेको अवस्थालाई ध्यानमा राख्दै विशेष कार्यक्रम ल्याइएको जानकारी दिए। उनका अनुसार वडानम्बर १ देखि ५ सम्मका थुप्रै क्षेत्र दलदलीय अवस्थामा रहेकाले ड्रेन्चिङ (नाली खन्ने प्रविधि) र लिफ्टिङ (पम्पिङ प्रविधि) प्रयोगमार्फत ती जमिनलाई खेतीयोग्य बनाइने छ।
‘हामी अब दलदलीय जमिनलाई पुनः खेतीयोग्य बनाउने छौं, यसले किसानहरूलाई आत्मनिर्भर बनाउनेछ,’ अध्यक्ष रानाले भने, ‘बेलडाँडीलाई कृषिमा आधारित समृद्धिको बाटोमा डोर्याउन हामी उखुखेतीमा समेत जोड दिन्छौं।’
उखुखेतीतर्फ प्रोत्साहन, कृषि आत्मनिर्भरता लक्ष्य
गाउँपालिका प्रमुखका अनुसार छिमेकी नगरपालिका बेलौरी र पुनर्वासमा संचालनमा रहेका चिनी मिलहरूलाई ध्यानमा राख्दै उखुखेतीलाई प्रवर्द्धन गरिनेछ। यसले स्थानीय कृषकलाई चिनी उद्योगसँग जोड्ने र उनीहरूको आर्थिक हैसियत सुदृढ बनाउने अपेक्षा गरिएको छ।
बन्यजन्तु–मानव द्वन्द्व न्यूनिकरणतर्फ नयाँ पहल
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष सीमाना जोडिएका १, २ र ५ नं. वडामा बन्यजन्तु र मानवबिचको द्वन्द्वलाई न्यूनिकरण गर्न सोलार बत्ती जडान गरिने योजना समेत बजेटमा समेटिएको छ। राति बन्यजन्तुहरूको बस्तीमा प्रवेश रोक्न सोलार बत्तीसँगै चेतनामूलक कार्यक्रम पनि संचालन गरिने बताइएको छ।
गौरवका योजना पुनःसञ्चालनमा
गत वर्षहरूमा प्रारम्भ गरिएका कतिपय गौरवका योजनाहरू यस वर्ष सशक्त रूपमा पुनःसञ्चालन गरिने प्रमुख रानाले बताए। तीमध्ये १५ सैयाको अस्पताल, कोल्ड स्टोर सञ्चालन, बेलडाँडीदेखि शुक्लाफाँटा निकुञ्जसम्मको पर्यटन रुटको संचालन, शासकीय विद्यालयमा पूर्ण निःशुल्क शिक्षा, आधारभूत स्वास्थ्य सेवा, पूर्वाधार विकास, सडक निर्माण लगायतका कार्यक्रम प्रमुख रूपमा अगाडि सारिनेछ।
उनका अनुसार गाउँपालिकाले पूर्वाधारसँगै सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको बहुआयामिक विकासलाई समेट्ने रणनीति अवलम्बन गर्नेछ। “स्थानीय स्रोतको अधिकतम उपयोग, संघीय र प्रदेश सरकारको समन्वय र साझेदारीमा हामी विकासका नयाँ युगतर्फ अघि बढ्नेछौं,” उनले भने।
बेलडाँडी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम समग्र ग्रामीण जनजीवन सुधार गर्ने अभिप्रायले तर्जुमा गरिएको देखिन्छ। दलदल जमिन पुनःउत्पादनदेखि लिएर पर्यटन र कृषि आत्मनिर्भरता, स्वास्थ्य र शिक्षा सुधारसम्मका बहुआयामिक कार्यक्रमले गाउँपालिकाको समावेशी र दीर्घकालीन विकास रणनीति झल्काउँछ। अब यिनको प्रभावकारी कार्यान्वयन नै ग्रामीण समृद्धिको कुशलता मापन गर्ने मुख्य आधार बन्नेछ।