नेपाल र भुटानको दोस्रो खेल आज

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • ३ साउन २०८२ (२० घण्टा अघि)
  • १४४

साफ यू २० महिला च्याम्पियनसिपअन्तर्गत भुटान र नेपालले आज लिग चरणको खेलमा दोस्रो भेट गर्दैछन्। नेपाल र भुटानबिचको खेल ढाकास्थित बसुन्धरा किंग्स एरिनाको अभ्यास मैदानमा नेपाली समयअनुसार २ : ४५ मा सुरु हुनेछ। 

नेपालले लिगको पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो। दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–२ ले पछि परेको थियो। तेस्रो र चौथो खेलमा श्रीलंकालाई समान ७–०, ७–० ले हराएको थियो ।

भुटान भने आफ्नो दोस्रो जितको लागि मैदानमा उत्रनेछ। भुटानले पहिलो खेलमा नेपालसँग ६–१ को हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो। तेस्रो खेलमा भुटान घरेलु टिम बंगलादेशसँग ४–१ सँग हार बेहोरेको थियो। साफको उमेर समूह अन्तर्गत अण्डर–२० फर्म्याटमा भएको प्रतियोगितामा नेपाल र भुटान भिड्न लागेको यो तेस्रो पटक हो ।

यसअघि सन् २०२३ मा बंगलादेशमै भएको अण्डर–२० साफमा नेपालले पहिलो पटक भुटानसँग खेलेको थियो । दुई वर्षअघि भएको समूह चरणको भेटमा नेपालले भुटानलाई ४–० गोलले पराजित गर्दै सहज जित दर्ता गरेको थियो । जुन खेलमा नेपालको जितका लागि अमिषा कार्की ह्याट्रिक गर्दा एक गोल कप्तान प्रीति राईले गरेकी थिइन् ।

जारी प्रतियोगिताको अंक तालिकामा बंगलादेश ४ खेलमा ४ जित निकाल्दै १२ अंकसहित अगाडि रहेको छ। नेपालले समान ४ खेल खेल्दा ३ जित र १ हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ। भुटानपनि समान ४ खेलमा १ जितसहित ३ अंक जोड्दै तेस्रो स्थानमा छ भने श्रीलंका ४ मा ४ हारसहित पुछारमा रहेको छ।

नेपालले लिगको अन्तिम खेल जुलाई २१ मा बंगलादेशसँग खेल्नेछ। उत्कृष्ट खेलसहित शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ।

 साफ यू २० खेल्ने नेपाली टोली :

बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर

प्रशिक्षकः यम प्रसाद गुरुङ

सहायक प्रशिक्षक : सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की

गोलरक्षक प्रशिक्षक : मिन बहादुर बस्नेत

टिम व्यवस्थापक : इन्दु दुवाल

अन्तिम अध्यावधिक: ३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस