अट्वारी विदा सच्याउन बेलाैरी नगर भलमन्सा समितिको माग

होमपेज / विविध / समाचार / समाज /
‘अट्वारी’ पर्व भदौ ८ गते ।
  • शीतल भट्ट
  • ७ साउन २०८२ (१६ घण्टा अघि)
  • ६००

शीतल भट्ट / बेलौरी, कञ्चनपुर ।

थारु समुदायको प्रमुख पर्व ‘अट्वारी’ को सार्वजनिक विदा साउन २५ गते तोकिएकोप्रति आपत्ति जनाउँदै बेलौरी नगर भलमन्सा समितिले विदाको मिति सच्याउन सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेको छ ।

समितिका नगर अध्यक्ष अमर सिंह चौधरी र सचिव विक्रम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अट्वारी पर्व प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीपछि पर्ने शुक्लपक्षको पहिलो आइतबार मनाउने परम्परा रहेको उल्लेख गरिएको छ ।

सोही अनुसार, यस वर्ष अट्वारी पर्व भदौ ८ गते आइतबार परेको भन्दै साउन २५ गतेको विदा तत्काल सच्याउन माग गरिएको हाे ।

“थारु समुदायको संस्कृति र आस्थासँग प्रत्यक्ष जोडिएको अट्वारी पर्वको विदा गलत मितिमा तोकिनु दुःखद विषय हो,” विज्ञप्तिमा भनिएको छ, “सरकारले यथार्थ जानकारीका आधारमा निर्णय गर्न जरुरी छ ।”

समितिले सुदूरपश्चिम प्रदेश सरकारले ०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्रमा अट्वारीको विदा साउन २५ गते उल्लेख गरे पनि त्यसले थारु समुदायको सांस्कृतिक परम्परा विपरित भएको जनाएको छ ।

भलमन्सा समितिले प्रदेश सरकारलाई अट्वारी पर्वको वास्तविक मिति भदौ ८ गते आइतबार सार्वजनिक विदा कायम गर्न पुनः आग्रह गर्दै यस्तो संवेदनशील विषयमा भविष्यमा सरोकारवालाहरु सँगकाे समन्वयमा मात्रै निर्णय लिनुपर्नेमा जोड दिएको छ ।

अन्तिम अध्यावधिक: ७ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस