ट्रेण्डिङ

विद्यालय परिसरमा सरसफाइ : बेलाैरी नगर भलमन्सा समितिको सक्रियता

होमपेज / विविध / समाचार / समाज /
समाज रुपान्तरणमा एकताको संकेत
  • रेडियो सुदूर सञ्चार
  • १२ साउन २०८२ (४ हप्ता अघि)
  • ५८०

चन्द्रिका चौधरी / बेलौरी, कञ्चनपुर -

बेलौरी नगरपालिका–५ स्थित श्री जन नमुना माध्यमिक विद्यालय परिसरमा सोमबार सरसफाइ कार्यक्रम सम्पन्न  गरिएको छ।

बेलाैरी नगर भलमन्सा समितिको संयोजनमा विद्यालय परिसर र खेलमैदान वरपरको झारपात हटाउने तथा वातावरण सफा गर्ने कार्य सम्पन्न गरिएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा बेलाैरी नगर भलमन्सा समिति अध्यक्ष समेत रहेका अमरसिंह चौधरीको नेतृत्वमा नगर सरसफाइ अभियान अन्तर्गत उक्त कार्य गरिएको जनाइएको छ।

सरसफाइ अभियानमा समाजका अगुवा तथा भलमन्सा सदस्य, स्वयंसेवक, विद्यालय प्रतिनिधि एवम् स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

रेडियो सुदूर सञ्चारसँगको टेलिफोन संवादमा अध्यक्ष चौधरीले भने, “नगरभित्रका हरेक सामाजिक कार्यमा भलमन्सा समितिको साथ र सक्रियताकाे सन्देश स्वरुप सरसफाइ अभियान सञ्चालन गरिएको हाे।, हामी सरसफाइ मात्र होइन, सद्भाव, सहकार्य र सामाजिक एकताको प्रवर्द्धनमा पनि अग्रसर रहन्छौं।”

उनका अनुसार यसअघि सीतानगरदेखि रामनगर चोकसम्म सडक किनार सरसफाइ गरिएको थियो। साथै, वाईसीएल बेलौरी नगर कमिटीको पनि यो अभियानमा साथ रहेको जनाए । चौधरी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन्।

यसैबीच, थारु समुदायका अगुवा तथा गाउँ भलमन्सा समितिको पहलमा बेलौरी नगरपालिका वडा नम्बर १ देखि १० सम्म सार्वजनिक स्थलहरूमा सरसफाइ गर्न सर्कुलर जारी गरिएको छ।

स्थानीय तहका खुला चोक, मठमन्दिर, विद्यालय परिसरलगायतका स्थानमा नियमित सरसफाइको तयारी भइरहेको नगर भलमन्सा समिति सचिव सुन्दर चाैधरीले जनाए ।

विद्यालय परिवारले स्थापना कालदेखि नै जन नमुना माविप्रति देखिएको स्थानीयको माया, समर्पण र सहयोगप्रति विशेष कृतज्ञता प्रकट गरेको छ।

विद्यालयको तर्फबाट जारी भनाइमा उल्लेख छ, “२२ वर्षदेखि निरन्तर विद्यालयसँग समर्पित अमरसिंह चौधरीको नेतृत्वमा सम्पन्न सरसफाइ अभियानले विद्यालयकाे सौन्दर्य र सर्वाङगिण विकासमा महत्त्वपूर्ण याेगदान पुगेको छ।”

विद्यालय व्यवस्थापन समितिको सक्रियता, भलमन्सा समितिको अग्रसरता र स्थानीयको ऐक्यबद्धताले रामनगर क्षेत्रमा विद्यालय वातावरण थप स्वच्छ, सुरक्षित र अनुकरणीय बन्दै गएको स्थानीयकाे भनाइ छ।

स्थानीयस्तरमा यस्ता अभियानले केवल वातावरणीय सरसफाइ मात्र होइन, सामाजिक चेतना, एकता र सार्वजनिक उत्तरदायित्वको भावना समेत जगाउने कार्य गर्दै आएको भन्दै आगामी दिनहरूमा थप संस्थागत सहकार्य र सहभागिता बढाउँदै लैजाने विद्यालय पक्षले जनाएको छ।

“स्वस्थ समाजको आधार — स्वच्छ वातावरण” भन्ने भावनाका साथ सम्पन्न यो अभियानले अन्य विद्यालय र समुदायलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: १२ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस