गुल्मी -
मदाने गाउँपालिका–६ को पृथ्वी माविका शिक्षक देविराम भुसाललाई हिजो बिहान विद्यालय समयमा एक स्थानीयबासिन्दाले फोन गर्दै भन्नुभयो, ‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो ।
शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराउनुभयो । त्यसपछि विद्यालयका चार जना शिक्षक विद्यार्थी खोज्दै ककेदेउराली नजिकै पुग्नुभयो । शिक्षकले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देख्नुभयो ।
विद्यार्थीले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपरहरण गरेको भन्न भ्याए । त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षकलाई बोलाए । सबै मिलेर विद्यार्थीको खोजी थालियो । झन्डै आधा घण्टापछि ११ बजेतिर एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए ।
प्रहरी, विद्यालय र स्थानीयबासिन्दालाई अब अपहरणकारी खोज्नु थियो । बालक अपरहणमा परेको सूचना छिनभरमै फैलियो । अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायत ठाउँका छ समूहमा २० जना प्रहरी खटिए ।
त्यसैगरी विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका झन्डै एक सय ५० जना छात्रहरू, स्थानीय, पालिकाका कर्मचारी गरी तीन सय जना भन्दा बढी नागरिक अपरहरणकारी खोज्नका लागि परिचालन भए । घटनाको विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकले विद्यार्थीलाई छुट्टछुट्टै सोधखोज गरिरहेका थिए ।
आठैजना विद्यार्थीले घटनाका विषयमा फरकफरक तर्क गरेपछि प्रहरीलाई घटनाका विषयमा शङ्का लाग्न थाल्यो । पछि बुझ्दै जाँदा विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा परेको बाहाना बनाएको खुलासा भयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बालबालिकाले यसरी बहाना बनाउलान् भन्नेतर्फ नसोचिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटनाबारे विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताउनुभएको छ ।
पछि विद्यार्थीलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइयो । हिजो दिनभर तनाव भए पनि आजदेखि विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ ।