गएको महिना ‘ड्रिम–एलेभन’ ले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको सम्झौता समाप्त गरेपछि भारतले आउँदो एशिया कप प्रमुख प्रायोजक विना नै खेल्ने सम्भावना छ ।
‘ड्रिम–एलेभन’ सम्झौताबाट बाहिरिएपछि बीसीसीआईले हिजो सेप्टेम्बर २ देखि नयाँ प्रायोजक खोज्न थालेको छ । कुनै पनि इच्छुक कम्पनीले ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ अर्थात् आशयपत्र किन्नका लागि अन्तिम मिति आउँदो सेप्टेम्बर १२ तोकिएको छ । इच्छुक कम्पनीहरूले बोलपत्र बुझाउने अन्तिम मिति सेप्टेम्बर १६ हो ।
एशिया कप यही सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । भारत सरकारले अनलाइन गेमिङको प्रवर्द्धन र नियमन विधेयक २०२५ पारित भएसँगै ‘ड्रिम–एलेभन’ र बीसीसीआईबीचको प्रायोजन सम्झौता रद्द भएको हो ।
आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, ओमान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का र हङकङ छन् ।