आजदेखि सोह्रश्राद्ध समापन गरिँदै

होमपेज / समाचार / समाज /
आज लाग्ने सूर्यग्रहणको सुतक नेपालमा नलाग्ने
आजदेखि सोह्रश्राद्ध समापन गरिँदै
  • रेडियो सुदूर सञ्चार
  • ५ असोज २०८२ (४ महिना अघि)
  • २३०

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको पितृपक्ष आज दिउँसोदेखि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष असोज कृष्ण औंसीका दिन पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

अशोज शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमा बुवा )को श्राद्ध भने भोलि सोमवार गरिन्छ । पितृपक्षका १५ तिथि र अशोज शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।

पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार अशोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पञ्चमीसम्म गर्न मिल्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो ।

यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो ।

आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्क्टिकालगायत देशबाट मात्र देखिने भनिएको छ । नेपाली आकाशमा नदेखिने भएकाले ग्रहण लाग्ने समय पनि तोकिएको छैन ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस