चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर –
बेलाैरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेलको हृदयाघातका कारण निधन भएको छ।
सोमबार बिहान बेलौरी–४ स्थित आफ्नै निवासमा ५८ वर्षीय कँडेलको अचानक हृदयाघात भई निधन भएको परिवार स्रोतले जनाएको छ।
उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा कँडेलले बेलौरीलाई व्यापारिक र व्यवसायिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको कार्यकालमा संघले स्थानीय उद्योगी–व्यवसायीको हकहित संरक्षण र समृद्ध आर्थिक वातावरण निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको संघका पदाधिकारीहरूले स्मरण गरेका छन्।
राजनीतिक रूपमा पनि सक्रिय रहेका कँडेल लामो समयदेखि नेकपा एमालेसँग आबद्ध थिए।
उहाँको निधनले व्यवसायिक मात्र नभई राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको भन्दै सहकर्मी, उद्योगी–व्यवसायी र राजनीतिक वृत्तबाट गहिरो शोक व्यक्त गरिएको छ।
कँडेलका दुई छोरा रहेका छन्। जेठो छोरा अमेरिका र कान्छो काठमाडौंमा रहेकाले उनीहरू आइपुगेपछि मात्र अन्तिम संस्कारको कार्यक्रम तय गरिने परिवार स्रोतले जनाएको छ।