पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । चितवनको तुईन खोला नजिकै पहिरो खसेसँगै दुईतर्फी गाडी आउजाउ बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आज बिहान सात बजे अवरुद्ध सडक खुलेको झन्डै पाँच घण्टापछि फेरि बन्द भएको हो ।
पहिरो झर्ने क्रम नरोकिएकोले सडक खुलाउन समस्या भइरहेको छ । त्यस क्षेत्रमा पटक–पटक पहिरो झर्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन् । पहिरोले सडकको ७० मिटर भाग ढाकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गएको हप्ता पनि पहिरो खस्दा सडक खुलाउन ४८ घण्टा लागेको थियो ।