पछिल्ला दिनहरूमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो हप्ता लगातार उकालो लागिरहेको सुनको मूल्य आज पनि १२ सय रुपैयाँले बढेर ताेलाकाे २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । याे भाउ अहिलेसम्मकै उच्च हो ।
यो हप्ता सोमवार २५ सय रुपैयाँले बढेको सुनको मूल्य मङ्गलवार २३ सय रुपैयाँले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन ताेलाकाे २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुमा आन्तरिकभन्दा पनि बाह्य कारण धेरै रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार सुनको भाउ कोभिड–१९ महामारीयता नै निरन्तर बढ्दै गएको छ । यो कहिलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच सङ्घर्ष चर्किँदा सुनको भाउ झन् बढ्दै गएको व्यवसायीहरूको बुझाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका कैयौं देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनुभयो ।
‘भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुन पुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रुसँग शरण माग्यो । रुसले चीनसँग सहकार्य गरिसकेपछि अहिले भारत, चीन, रुस, ब्राजिलजस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरूले अमेरिकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउसम्मै पुगेको हाे’, उहाँले भन्नुभयाे ।
बज्राचार्यका अनुसार अब ब्रिक करेन्सी आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चीन र भारतले आफूसँग सञ्चित भएको डलर फाल्दै सुन जम्मा गरेका कारण बजारमा सुन अभाव भएको छ । युरोपेलीलगायत अरू देशका रिजर्भ बैंकहरू पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।
‘लगानीकर्ताहरू बजारमा आउँदा अहिले सुनकाे अभाव छ । यही कारणले पछिल्ला दिनमा सुनकाे भाउ बढेकाे हाे । सुनकाे भाउ यसरी बढ्दैन भन्ने थियाे । तर ट्रम्प सरकारले हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ बैंकलाई ब्याजदर घटाउन दबाव दिएका कारण पछिल्लो पटक एकैचाेटि सुनकाे भाउ उकालाे लागेकाे हाे’, उहाँले भन्नुभयाे ।
महासङ्घका प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार आउँदा दिनहरूमा सुनको भाउ अझै माथि पुग्छ । बजारमा सुनको अभाव हुँदासम्म यसको माग उच्च हुनेछ । एउटा विन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।
सुनमा लगानी गर्ने बढ्दै
पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरू बढिरहेका बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि मूल्य छैन । भोलि डलरको पनि मूल्य नहुन सक्छ र सुनको मात्र मूल्य हुने रहेछ भनेर अहिले छाेटाे समयका लागि सुनमा लगानी गर्ने र पछि सुन बेचेर त्यसबाट पैसा कमाउनेहरू बढेका उहाँको भनाइ छ ।
नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरू बढेका बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार दशैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरूको चहलपहल देखिएको हो । जसरी सुनको भाउ बढेको छ त्यसैगरी घट्न पनि सक्ने उहाँकाे भनाइ छ ।
केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चे पनि सामान्यतया सुनचाँदी पसलहरूमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सीताराम गहतराजले सुनचाँदीको भाउ आकाशिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताउनुभयो ।
उहाँका अनुसार चाडपर्वको याम भएकाले नयाँ सुनभन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताहरूले गरेका छन् । सरकारले थप कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ ।