महाेत्तरी –
महोत्तरीमा अघिल्लो आइतवार र सोमवार रातो नदीको तटबन्ध भत्किएर आएको बाढीले ९ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार महोत्तरीका १५ मध्ये ९ वटा पालिकाबाट प्राप्त विवरणानुसार बाढीले झन्डै २ हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको हो ।
अहिलेसम्म प्राप्त विवरणानुसार महोत्तरी गाउँपालिकामा सबैभन्दा धेरै ६ सय हेक्टर, बलवा नगरपालिकामा ५ सय हेक्टर, मटिहानी नगरपालिकामा ३ सय हेक्टर, एकडारा गाउँपालिकामा ३ सय हेक्टर, लोहारपट्टी नगरपालिकामा १ सय हेक्टर, भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी १ हजार ९ सय ३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको छ ।
रातो नदीको तटबन्ध भत्किएर महोत्तरीका १० नगरपालिका र ५ वटा गाउँपालिका नै प्रभावित हुने गरी महाेत्तरीमा ठूलाे बाढी आएको थियो । बाँकी पालिकामा विवरण सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।