लालझाडी, कञ्चनपुर -
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरको लालझाडी गाउँपालिकामा आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको छ। बुधबार सम्पन्न अधिवेशनले खुशीराम रानाको नेतृत्वमा ९ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
रास्वपाको विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव ज्ञानेन्द्र महताको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियोे। रास्वपा कञ्चनपुरका प्रभावशाली नेता जनक सिंह धामीका अनुसार पार्टी विधानअनुसार सहमतिको आधारमा पारदर्शी ढङ्गले नयाँ नेतृत्व चयन गरिएको हो।,
नवगठित समितिमा उपसभापति हरिश गिरी, सचिवमा धनराज भट्ट तथा सदस्यहरूमा पानसिंह धामी, नहरसिंह राना, दलबहादुर झुकाल, शिवदास राना र रामवती राना चयन भएका छन्। उनले भने, जिल्ला प्रतिनिधिमा लक्ष्मण राना र प्रदेश प्रतिनिधिमा रतनलाल भारतीलाई जिम्मेवारी तोकिएको छ।,
नेता धामीले रास्वपाले ल्याएको वैकल्पिक राजनीति स्थानीय क्षेत्रमा सकारात्मक रूपमा ग्रहण गरिएको उल्लेख गर्दै भने,
“लालझाडीमा जनताले परिवर्तनको अपेक्षा निकै लामो समयदेखि राखिरहेका छन्। यो नयाँ नेतृत्वले त्यही अपेक्षा पूरा गर्ने संकेत दिएको छ।”
त्यस्तै प्रमुख अतिथि महताले स्थानीय राजनीतिक संरचनामा रास्वपाको सक्रियता बढ्नु उत्साहजनक रहेको बताउँदै “समुदायले खोजेको पारदर्शिता र जवाफदेहिताको आदेश पूरा गर्ने क्षमता रास्वपा नेतृत्वले देखाएको छ। यो समितिले जनतामा हासिल भएको विश्वास कायम राख्नेछ भन्ने अपेक्षा छ।”
कार्यक्रम सञ्चालक तथा बेलाैरी नगर सभापति विष्णु शर्मा न्यौपानेले अधिवेशनलाई स्थानीय राजनीति र जनआस्थाको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै भने, “लालझाडीमा दीर्घकालीन रूपान्तरणका लागि संगठित र जिम्मेवार नेतृत्व आवश्यक छ। नयाँ समितिले जनसरकार, सुशासन र उत्तरदायित्वका मूल्यलाई व्यवहारमा उतार्ने विश्वास हामीलाई छ।”
पदभार ग्रहण गर्दै सभापति खुशीराम रानाले गाउँपालिकामा देखिँदै आएका बेथिति, अनियमितता र संसाधन दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाउने घोषणा गरेका छन्।
उनले भने, “गाउँपालिकामा सुशासन स्थापना गरेर जनताको हक–अधिकार सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो। स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै सुधार ल्याइनेछ।”
थारु समुदायको नेतृत्वमा रास्वपाको उदयलाई स्थानीय राजनीतिक वृत्तले अर्थपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन् ।