बेलौरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य विष्टद्वारा उद्घाटन

होमपेज / खेलकुद / समाचार /
स्थानीय २५ विद्यालयका विद्यार्थीबीच कडा प्रतिस्पर्धा
बेलौरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य विष्टद्वारा उद्घाटन
  • रेडियो सुदूर सञ्चार
  • १ पुष २०८२ (४ हप्ता अघि)
  • १६५

चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –

मंगलबारदेखि बेलौरी नगरको खुलामञ्चमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

नगरभित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागितामा उक्त प्रतियोगिता सुरु भएको हाे। बेलाैरी नगरपालिकाको आयाेजनामा सुरुभएकाे प्रतियोगिता पाैष ४ गतेसम्म सञ्चालन हुने आयाेजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले राष्ट्रपति रनिङ शिल्ड विद्यालय तहबाटै खेलकुद प्रतिभाको पहिचान, विकास र राष्ट्रियस्तरसम्म पुर्‍याउने सशक्त आधार भएको उल्लेख गरे।

खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने भएकाले पढाइसँगै खेलकुदलाई समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।

विशिष्ट अतिथि तथा कार्यबाहक नगर प्रमुख हर्कबहादुर भुलले नगरपालिकाले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुदलाई स्थानीय शिक्षा नीतिको महत्वपूर्ण अङ्गका रूपमा अघि बढाउँदै आएको बताए।

उनले नगरभित्र खेलमैदानको स्तरोन्नति, खेल सामग्री उपलब्धता र प्रशिक्षक व्यवस्थापनमा चरणबद्ध लगानी गरिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण भेगमा लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

कार्यक्रममा बोल्दै प्रेम सिंह बोहराले खेलकुदले स्वस्थ जीवनशैली निर्माण गर्नुका साथै अनुशासित, जिम्मेवार र सक्षम नागरिक उत्पादनमा टेवा पुर्‍याउने बताए। उनले प्रतिस्पर्धाभन्दा पनि खेलभावनालाई उच्च स्थान दिन आग्रह गर्दै विद्यालय, अभिभावक र स्थानीय तहबीचको सहकार्यले मात्र खेलकुद क्षेत्र दीगो बन्न सक्ने बताए।

कार्यक्रमका सभापति एवम् नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते लगायतका विभिन्न खेल विधा समावेश गरिएका छन्।

“नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयको उत्साहजनक सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र आकर्षक बनेको छ,” पत्रकार संगकाे कुराकानीमा उनले भने,- कार्यक्रमलाई सफल पार्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए।

लक्ष्मी माध्यमिक विद्यालय जबदियाका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन नगर खेलकुद सदस्य शिक्षक तेजबहादुर चन्दले गरेका थिए। उद्घाटन समारोहमा शिक्षक, विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

पाैष ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बेलौरी नगरमा खेलकुद विकास संगै प्रतिभाकाे खाेज र उत्पादनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: १ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस