किशोर तामाङ / पुनर्वास (कञ्चनपुर) —
कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासको आयोजनामा ख्रिष्टमस डे भव्य रुपमा मनाइएको छ।
पुनर्वास ३ काे ६५ बिगाह क्षेत्रमा आयोजित कार्यक्रममा ख्रिष्टमस डे भव्य रुपमा मनाइएको हाे। कार्यक्रममा स्थानीयवासी तथा ईसाई समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष राजकुमार तामाङको सभापतित्वमा रहेको कार्यक्रममा पुनर्वास नगर उपप्रमुख भुलिया कुमारी रानाकाे प्रमुख आतिथ्यता रहेको थियोे।
त्यस्तै, कञ्चनपुर ईसाई समाजका सचिव खर्चलामा तामाङ, उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका अध्यक्ष कृष्ण तामाङ तथा वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
विशिष्ट अतिथिको दिर्घाबाट बोल्दै उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष रायमाझीले ख्रिष्टमसले प्रेम, शान्ति, क्षमा र सहअस्तित्वको उच्च मूल्यबोध गराउने बताए। उनले यस्ता पर्वहरूले समाजमा आपसी सद्भाव र सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका अध्यक्ष कृष्ण तामाङले ख्रिष्टमसको अवसरमा शुभकामना व्यक्त गर्दै रेडक्रस मानव सेवाप्रति समर्पित संस्था भएको पुनः स्मरण गराए।
नगरपालिका स्तरमै समन्वय गरेर आपतकालीन अवस्थामा निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिँदै उनले आगामी दिनमा सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख वक्ता रेभ. निमा घिसिङले येशु ख्रिष्टको जन्मले मानवता, सेवा, त्याग र प्रेमको मार्ग देखाएको बताउँदै ती मूल्यहरू दैनिक जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।
प्रमुख अतिथि नगर उपप्रमुख रानाले ख्रिष्टमस जस्ता पर्वहरूले धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्न टेवा पुर्याउने उल्लेख गरिन्।
पुनर्वास नगरपालिकामा ईसाई समुदायको उल्लेख्य उपस्थिति रहेकाले स्थानीय समुदायको भावना अनुरूप नगरपालिका सधैं सहकार्य गर्न तत्पर रहेको बताउँदै उनले ख्रिष्टमसको अवसरमा स्थानीय बिदा प्रदान गरिएको जानकारी दिइन्। सबै धर्म र संस्कृतिप्रति समान सम्मान नै समावेशी समाज निर्माणको आधार भएको उनको भनाइ थियो।
कार्यक्रममा द फन्की डान्स सेन्टर तथा विभिन्न चर्चका युवा समूहहरूको आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। पुनर्वास क्षेत्रमा रहेका ४२ वटा चर्चको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।
आयोजक संस्थाका अनुसार ख्रिष्टमस डेलाई धार्मिक पर्वसँगै सामाजिक एकता, मेलमिलाप र आपसी समझदारीको प्रतीकका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
पाष्टर दिल तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासका सचिव शम्सेर तामाङले गरेका थिए।
कार्यक्रम शान्तिपूर्ण, सभ्य र उल्लासमय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।