चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —
बेलौरीको खुलामञ्चमा भलिबल कोर्ट निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
स्थानीय खेलप्रेमीहरूको सक्रियता र आर्थिक सहयोगमा भलिबल कोर्ट निर्माण भइरहेको निर्माण समिति सचिव दिपेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार स्थानीय भलिबल प्रेमीहरूलाई संगठित गर्दै समिति गठन गरी औपचारिक रूपमा निर्माण कार्य सुरु गरिएको हो।
“हामीले स्थानीय भलिबल प्रेमीहरूको सहभागितामा समिति गठन गरी यो कार्य प्रारम्भ गरेका हौं,” सचिव उपाध्यायले भने, “समितिका सदस्यहरूबाट प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको छ, जसले निर्माण कार्यलाई गति दिएको छ।”
भलिबल कोर्ट निर्माण समितिको अध्यक्षमा स्थानीय डम्बर सिंह विष्ट चयन भएका छन्। भने, शेरसिंह बोहरा (उपाध्यक्ष), विष्णुप्रसाद तिवारी (कोषाध्यक्ष), सुरेन्द्रराज बोहरा, हिमालय सिंह विष्ट, लक्ष्मण सिंह दियाल, बलबहादुर चन्द, मानबहादुर चन्द, बद्रि रिजाल र अशोक चौधरीसहित ११ सदस्यीय निर्माण समिति गठन गरिएको जनाइएको छ।
अध्यक्ष विष्टले खुलामञ्चमा भलिबल कोर्ट निर्माण हुनु युवाहरूका लागि खेलकुदप्रति आकर्षण बढाउने महत्वपूर्ण पहल भएको बताए।,
“बेलौरीमा खेलकुद पूर्वाधारको अभाव रहेको अवस्थामा खुलामञ्चमा भलिबल कोर्ट निर्माण हुनु अत्यन्त सकारात्मक कदम हो,” अध्यक्ष विष्टले भने, “यसले स्थानीय युवालाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मद्दत गर्नेछ।”
भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका विष्टले आगामी दिनमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह, खेलप्रेमी तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयहरूले खुलामञ्चमा भइरहेको भलिबल कोर्ट निर्माणलाई खेलकुद विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।