म यसै माटोकी छोरी हुँ : बिना मगर

होमपेज / राजनीति / समाचार /
मैले नागरिकका समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेकी छु
म यसै माटोकी छोरी हुँ : बिना मगर
  • रेडियो सुदूर सञ्चार
  • ७ माघ २०८२ (२ हप्ता अघि)
  • ६७६

बेलौरी, कञ्चनपुर —

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ नेपाल कम्युनिस्ट पार्टी (चुनाव चिन्ह ‘तारा’) तर्फबाट बिना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मगरले आफू लामो समयदेखि जनताको बीचमा रहेर काम गरेको अनुभवका आधारमा पुनः जनताको सेवा गर्ने अठोटसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

उहाँले जनताको मौलिक अधिकारको संरक्षण, सामाजिक न्यायको सुनिश्चितता र समावेशी तथा सन्तुलित विकासलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको स्पष्ट पार्नुभयो।

पूर्वमन्त्री समेत रहेकी मगरले कञ्चनपुर क्षेत्र नम्बर–१ भौगोलिक, सामाजिक र आर्थिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँका नागरिकका समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेको दाबी गर्नुभयो। “यो क्षेत्र विकासका दृष्टिले अझै धेरै काम गर्न बाँकी छ, त्यसका लागि नीतिगत पहल, प्रभावकारी कार्यान्वयन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो।”

माइती गाउँ विसकाप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै मगरले यस क्षेत्रप्रति आफ्नो भावनात्मक सम्बन्ध मात्रै नभई गहिरो जिम्मेवारीसमेत जोडिएको बताउनुभयो।

“यहाँका जनताको सुख–दुःख, समस्या र पीडासँग म प्रत्यक्ष रूपमा जोडिएकी छु, त्यसैले म सधैँ यहाँका नागरिकको पक्षमा उभिनेछु,” भन्नुभयो।

उहाँले महिला, युवा, किसान, मजदुर तथा पछाडि परेका वर्ग र समुदायको आवाज प्रतिनिधि सभामा अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

साथै, राज्यका नीति तथा कार्यक्रमहरू निर्माण र कार्यान्वयनको क्रममा स्थानीय तह र नागरिकको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयाे।

पूर्व खानेपानी मन्त्री मगरले आफू यसै माटोकी छोरी भएको उल्लेख गर्दै मतदातासँग समर्थनको अपेक्षा गर्नुभयो। “म तपाईंहरूकै छोरी–बहिनी हुँ, तपाईंहरूको विश्वास र मतले मात्रै संसदमा पुगेर तपाईंहरूको आवाज उठाउन सक्छु,”।

बिना मगरको उम्मेदवारी दर्तासँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार हरूबीचको चुनावी प्रतिस्पर्धा थप चर्किएको छ।

निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभर राजनीतिक गतिविधि तीव्र बन्दै गएपछि मतदाताको चासो पनि बढ्दै गएको देखिन्छ।

अन्तिम अध्यावधिक: ७ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस