वात्सल्य विद्या निकेतन बन्यो बेलाैरी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन

होमपेज / खेलकुद / समाचार /
खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धि
वात्सल्य विद्या निकेतन बन्यो बेलाैरी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन
  • रेडियो सुदूर सञ्चार
  • १६ माघ २०८२ (४ दिन अघि)
  • ४०५

बेलौरी, कञ्चनपुर -

विद्यालय स्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित बेलौरीमा आयोजित विद्यालय स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

नगर खेलकुद समिति बेलौरीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनले जित्दै नगरकै खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धि थपेको हो।

फाइनल खेलमा वात्सल्य विद्या निकेतनले सिद्धबाबा एकेडमी बेलौरीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको आयोजकले जनाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिद्धबाबा एकेडमीको सुरुवातदेखि नै विकेट पतन जारी रहँदा टोलीले वात्सल्यका बलरहरूको कडा दबाब सामना गर्न सकेन र केवल १० ओभरमा ३० रनमै समेटिन पुग्यो।

सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वात्सल्य विद्या निकेतनले कुनै पनि विकेट नगुमाई सहज रूपमा लक्ष्य पूरा गर्दै उपाधि हात पारेको हो। खेलभर वात्सल्यका खेलाडीहरूको संयमित ब्याटिङ, अनुशासित प्रदर्शन र बलिङ आक्रमण प्रशंसनीय देखिएको थियो।

नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी प्रमुख आतिथ्यता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक विकास मात्र नभई मानसिक क्षमता, अनुशासन र नेतृत्व विकासमा समेत ठूलो योगदान दिने बताउनुभयो।

उहाँले विद्यालय तहदेखि नै यस्ता प्रतियोगिताहरू सञ्चालन गर्न सके भविष्यमा बेलौरीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

नगर खेलकुद समिति बेलौरीका अध्यक्ष न्यौपानेले प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय, खेलाडी तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभयो।

प्रतियोगितामा विजेता वात्सल्य विद्या निकेतनले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिद्धबाबा एकेडमीले २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको हो।

त्यसैगरी संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका विज्डम एकेडमी र लिटिल गार्डेन बोर्डिङ स्कुलले जनही ५–५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको छ। प्लेयर अफ द टुर्नामेन्ट तथा बेस्ट बलरको उपाधि वात्सल्य विद्या निकेतनका निरज सिंह कार्कीले प्राप्त गरेका छन् भने बेस्ट ब्याट्सम्यानको उपाधि सोही विद्यालयका निराजन थापालाई प्रदान गरिएको आयोजकले जनाएको छ।

विजेता बनेपछि वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालले विद्यार्थीहरूको मेहनत र अनुशासनकै कारण उपाधि जित्न सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले निरन्तर अभ्यास, लगनशीलता र टिमवर्कको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयले पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिएको छ। यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने र भविष्यमा राम्रो खेलाडी बन्न प्रेरणा दिनेछ।”

प्रतियोगितामा बेलौरी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत गरी ९ वटा विद्यालय सहभागी भएका थिए।

अन्तिम अध्यावधिक: १६ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस