बेलाैरी, कञ्चनपुर -
आगामी फागुन २१ काे निर्वाचनलाई लक्षित गर्दै शुक्रबार कञ्चनपुर क्षेत्र नम्बर १ मा उम्मेदवार, सरोकारवाला र सञ्चारकर्मीहरु बीच निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी विशेष छलफल गरिएको छ।
छलफलमा जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले निर्वाचन आचारसंहिताका प्रमुख प्रावधानबारे जानकारी गराउँदै आचारसंहिता उल्लङ्घन भएमा दण्ड–जरिवानादेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने जनाए।
जाेशीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवार तथा राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
निर्वाचन अनुगमन समिति सदस्य कृष्णबहादुर धामीले उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रही आय–व्यय विवरण पारदर्शी रूपमा राख्नुपर्ने बताए।
उनले निर्वाचन अवधिभर हुने सम्पूर्ण खर्च छुट्टै बैंक खाता सञ्चालन गरी सोही खातामार्फत गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको जानकारी दिए।

निर्वाचन अधिकृत दामोदर घिमिरे, बेलौरी नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख जिल्ला अधिकारी मदन कुमार कोइराला, नगर उपप्रमुख जोगराम चौधरी, कञ्चनपुर प्रहरी उपरीक्षक खड्कबहादुर खत्री, सशस्त्र प्रहरी उपरीक्षक प्रकाशराज सिग्देल, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले आगामी निर्वाचनलाई भयमुक्त, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले निर्वाचन अवधिभर शान्ति–सुरक्षाको सुदृढ व्यवस्था गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
त्यसैगरी निर्वाचन अधिकृत दामोदर घिमिरेले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार, मर्यादित र कानुनसम्मत ढंगले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेेका छन् ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र सञ्चारकर्मीहरूले निर्वाचन आचारसंहिता, प्रचार–प्रसारका मापदण्ड, खर्च व्यवस्थापन, सामाजिक सञ्जालको प्रयोग तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा जिज्ञासा राखेका थिए। उठाइएका जिज्ञासाहरूको सम्बन्धित निकायका अधिकारीहरूले प्रष्ट पार्दै आचारसंहिताको पालना सबै पक्षको साझा दायित्व भएको बताए।
छलफलमा सहभागीहरूले निर्वाचन प्रचार–प्रसार तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, खर्च व्यवस्थापन तथा शान्ति–सुरक्षामा विशेष ध्यान दिन जाेड दिएका छन्।