आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले दोस्रो खेल इटालीसँग खेल्दैछ। मुम्बईको वानखेडे रंगशालामा हुने उक्त खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
टी–२० फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि ५० ओभरको खेलमा तीनपटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो । पछिल्लो भेट सन् २०१३ मा भएको थियो । इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् ।