बेलौरी (कञ्चनपुर) -
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरूबीच शनिबार बेलौरीमा ‘प्रत्यक्ष संवाद (ककस)’ कार्यक्रम आयोजना हुने भएको छ।
JCI महेन्द्रनगरको आयोजना तथा Nepal National Social Welfare Association (एनएनएसडब्लुए) को सह–आयोजनामा उद्योग वाणिज्य संघ, बेलौरीको सभाहलमा दिउँसो २ बजेदेखि उक्त कार्यक्रम आयोजना हुने भएको हाे।
‘ककस (Caucus)’ मोडेलमा आधारित यस संवाद कार्यक्रममा क्षेत्र १ का उम्मेदवारहरूले आफ्ना चुनावी प्रतिबद्धता, विकासका प्राथमिकता र भावी कार्ययोजना प्रस्तुत गर्नेछन्।
त्यसपछि सहभागी नागरिकहरूले प्रत्यक्ष रूपमा प्रश्न राख्न र स्पष्ट धारणा लिन सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार मतदाता र उम्मेदवारहरुबीच खुला संवादको वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
“परिवर्तित विश्वका लागि नेतृत्व विकास” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रम ‘Voices That Shape The Nation’ थिममा केन्द्रित रहनेछ।
प्रमुख राजनीतिक दलका उम्मेदवारहरूका साथै स्वतन्त्र उम्मेदवारहरूलाई पनि एउटै मञ्चमा उभ्याएर मुद्दामुखी बहस गराउने तयारी गरिएको जनाइएको छ। कार्यक्रमलाई ‘Aim Act Achieve’ समूहले प्राविधिक तथा व्यवस्थापन सहयोग गर्ने छ।
कृषि आधुनिकीकरण, सीमानाका व्यवस्थापन, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सुशासन जस्ता विषयमा उम्मेदवारहरूको स्पष्ट दृष्टिकोण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण सचेत मतदाता, नागरिक समाज, र सराेकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।
यस प्रकारको प्रत्यक्ष संवादले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, उत्तरदायी र एजेन्डामुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।