निरु चाैधरी/ बेलौरी, कञ्चनपुर –
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय अग्रता हासिल गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
हालसम्म सार्वजनिक भएको प्रारम्भिक नतिजा तथा अग्रताको विवरण अनुसार रास्वपा देशभरका ४१ निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ, जसले समग्र राजनीतिक समीकरणमा नयाँ संकेत देखाएको विश्लेषण हुन थालेको छ।
निर्वाचन आयोगका अनुसार अधिकांश जिल्लाहरूमा मतगणना जारी छ र क्रमशः परिणाम सार्वजनिक भइरहेका छन्।
प्रारम्भिक नतिजामा रास्वपाले विशेषगरी शहरी तथा अर्धशहरी क्षेत्रमा बलियो प्रदर्शन गरेको देखिएको छ।
काठमाडौं उपत्यकाका धेरै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ। काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी भइसकेकी छन् भने काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन्।
काठमाडौंका अन्य क्षेत्रहरू—काठमाडौं–२, ३, ४, ५, ६, ७, ९ र १०—मा पनि रास्वपा उम्मेदवारहरूले प्रारम्भिक अग्रता कायम गरेका छन्।
त्यसैगरी भक्तपुरका दुवै निर्वाचन क्षेत्र, ललितपुरका केही क्षेत्र, चितवन, झापा, तनहुँ, मोरङ, महोत्तरी, बाँके, कास्की, रूपन्देही, दाङ, धादिङ, बर्दिया, पाल्पा लगायतका विभिन्न जिल्लामा पनि रास्वपा उम्मेदवारहरू अग्रस्थानमा रहेको विवरण सार्वजनिक भएको छ।
चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णिम वाग्ले, झापा–२ मा इन्दिरा राना मगर, झापा–५ मा बालेन्द्र शाह, चितवन–३ मा सोविता गौतम लगायतका उम्मेदवारहरू अग्रस्थानमा रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले प्रारम्भिक अग्रता लिएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा दीपकराज बोहरा, क्षेत्र नम्बर १ मा जनकसिंह धामी र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता अग्रस्थानमा रहेका छन्।
यसैबीच अन्य प्रमुख राजनीतिक दलहरू पनि केही क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेका छन्। प्राप्त विवरण अनुसार नेकपा एमाले पाँच निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ।
तीमध्ये रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अग्रस्थानमा रहेका छन्।
त्यसैगरी नेपाली कांग्रेस चार क्षेत्रमा अग्रस्थानमा रहेको विवरण सार्वजनिक भएको छ। ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली–१ मा जनकराज चौधरी र रसुवा–१ मा मोहन आचार्य अग्रस्थानमा रहेको बताइएको छ।
यस्तै नेकपा दुई क्षेत्रमा अग्रस्थानमा देखिएको छ। रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कालीकोट–१ मा महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने जुम्ला निर्वाचन क्षेत्रमा ज्ञानेन्द्रबहादुर शाहीको अग्रतासहित प्रतिस्पर्धामा रहेको छ।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार मतगणनाको गति बढाइएकाले क्रमशः अन्य निर्वाचन क्षेत्रहरूको परिणाम पनि सार्वजनिक हुँदै जानेछ।
यस निर्वाचनको प्रारम्भिक परिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ शक्ति उदाउँदै गएको संकेत देखाएको विश्लेषकहरूको भनाइ छ।
तर अन्तिम नतिजा आउँदासम्म प्रतिस्पर्धा अझै रोचक रहने अनुमान गरिएको छ।