बेलाैरी, कञ्चनपुर —
बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै वात्सल्य विद्या निकेतन बेलाैरीले SPA जुनियर प्राइड लिग ०८३ (विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता) को उपाधि जितेको छ।
फाइनल खेलमा चैतन्य पाठशाला, धनगढीलाई ६९ रनले पराजित गर्दै वात्सल्यले लगातार पाँचौँ जितसहित उपाधि हात पारेको हो।
धनगढीमा सम्पन्न १५–१५ ओभरको फाइनल खेलमा वात्सल्यले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १ सय २५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चैतन्य पाठशाला ५५ रनमै समेटिएपछि वात्सल्यले सहज जित हात पारेको प्रिन्सिपल लक्ष्मण सिंह दियालले जनाए।
उनलेे भने - वात्सल्यको जितमा हिमाल पन्त र अनुप जोशीको उत्कृष्ट बलिङ निर्णायक बन्यो।, हिमाल पन्तले ३ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे भने उनले ब्याटिङमा २७ रन पनि जोडे।
त्यस्तै, अनुप जोशीले ३ ओभरमा ६ रन दिएर ४ विकेट लिँदा ब्याटिङमा ११ रन (२ चौका सहित) बनाए। नीरज सिंह कार्कीले आक्रामक ब्याटिङ गर्दै ९ बलमा ५ चौकासहित २३ रन बनाउनुका साथै १ विकेट पनि लिए।
अञ्जित धामीले १ विकेट लिँदै अविजित ८ रन जोडे भने प्रेम ओडले ३ चौकासहित १५ रन र धीरेन्द्रराज बिष्टले १३ रनको योगदान दिए।,
समग्र प्रतियोगितामा पनि वात्सल्यका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। बलर हिमाल पन्तले ५ खेलमा १३ विकेट लिँदा अनुप जोशीले ४ खेलमा १२ विकेट हात पारे।,
ब्याटिङतर्फ नीरज सिंह कार्की र प्रेम ओडले ५ खेलमा २ सय भन्दा बढी रन जोड्दै टोलीको सफलता सुनिश्चित गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
कैलाली र कञ्चनपुरका १४ टोली सहभागी उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको वात्सल्य विद्या निकेतनलाई आयोजक तथा खेलप्रेमीहरूले बधाई ज्ञापन गरेका छन्।
साथै उपविजेता चैतन्य पाठशालासहित सहभागी सबै टोलीलाई पनि शुभकामना व्यक्त गरिएको छ। यसैबीच, वात्सल्य विद्या निकेतनका प्रिन्सिपल दियालले टोलीको सफलताप्रति खुशी व्यक्त गर्दै खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गरेका छन् । उनलेे भने,
“हाम्रा विद्यार्थीहरूले निरन्तर अभ्यास, अनुशासन र टोलीभावनाका कारण यो उपलब्धि हासिल गरेका हुन्।,
हामीले सधैं पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिएका छौँ। यस जितले विद्यार्थीहरूमा थप आत्मविश्वास र ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु।”
दियालले आगामी दिनमा पनि विद्यालयले खेलकुद गतिविधिलाई थप सुदृढ गर्दै विद्यार्थीहरूको समग्र विकासमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।