बेलौरी, कञ्चनपुर —
बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालित प्रथम वडाध्यक्ष खुला नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
बिहीबारदेखि बेलाैरी ब्याडमिन्टन हलमा सुरु भएको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै युवा प्रतिभा पहिचान र खेलप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिताकाे उद्घाटन बेलौरी नगर उपप्रमुख जोगराम चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले संयुक्त रूपमा गरेका थिए।
उद्घाटन समारोहमा वडाध्यक्ष ढकालले खेलकुदले युवाहरूमा अनुशासन, स्वास्थ्य र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै वडा तथा नगरस्तरमा खेलकुद प्रवर्द्धनका लागि यस्ता प्रतियोगिताहरू निरन्तर आवश्यक रहेको बताए।
उनले सहभागी खेलाडीहरूलाई खेलभावना, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।
तीन दिन सम्म सञ्चालित प्रतियोगितामा रजनीश भण्डारी र हिमाल श्रेष्ठको टिमले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः प्रथम स्थान हासिल गरेको छ।
त्यस्तै, कैलाश सिंह विष्ट र शिवप्रसाद सुवेदीको टिम द्वितीय तथा सन्तोष साउँद र महेश बुडालको टिमले तृतीय स्थान हासिल गरेका छन्। ब्याडमिन्टन प्रतियोगितामा कुल १९ टिमको उत्साहजनक सहभागिता रहेको थियो।
समापन समारोह जिल्ला भलिबल संघका सदस्य तेजबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा ज्ञानेन्द्र गौतमको सभाध्यक्षता रहेको थियो भने बेलौरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपाने विशिष्ट दीर्घामा आसीन थिए। कार्यक्रममा ब्याडमिन्टन खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले खेलकुदले अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता उजागर गर्न महत्वपूर्ण योगदान दिने बताए।
उनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै विजेता तथा सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
विशिष्ट अतिथि न्यौपानेले खेलकुद क्षेत्रको विकासका लागि अहाेरात्र खटिने ब्याडमिन्टन क्लब प्रति आभार प्रकट गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेकाे विचार व्यक्त गरे।उनले सबै टिमको प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि शुभकामना समेत राखेका थिए।
सभाध्यक्ष ज्ञानेन्द्र गौतमले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले वडा तथा नगरस्तरमा खेलकुद विकासलाई टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन खेलप्रेमी शिक्षक दीपेन्द्र प्रसाद उपाध्यायले गरेका थिए। भने प्रतियोगिताको समापनसँगै विजेता-उपविजेता टिमहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।