बेलौरी : वात्सल्य सहित कञ्चनपुरका १४ विद्यालयका सबै विद्यार्थी उत्तीर्ण

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
विद्यार्थी, शिक्षक तथा अभिभावक उत्साहित
बेलौरी : वात्सल्य सहित कञ्चनपुरका १४ विद्यालयका सबै विद्यार्थी उत्तीर्ण
  • रेडियो सुदूर सञ्चार
  • ३१ बैशाख २०८३ (२ महिना अघि)
  • ७२१

बेलाैरी, कञ्चनपुर 

माध्यमिक शिक्षा परीक्षा (एसईई) ०८२ को नतिजामा कञ्चनपुरका १४ विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन्। गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका १२ निजी तथा २ सरकारी विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्याङ्क अनुसार भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका केही विद्यालयले शतप्रतिशत उत्तीर्ण दर हासिल गरेका छन्।

यता, न्यून विद्यार्थी संख्या भएका बेलौरीका दुई सरकारी विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

बेलौरीको कल्याण माध्यमिक विद्यालय पाेैलाह ४ जना र गणेश माध्यमिक विद्यालय बेलौरीका २ जना विद्यार्थी उत्तीर्ण भएर शतप्रतिशत नतिजा ल्याएका हुन्।

भीमदत्त नगरपालिका–३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुल, भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरको सनराइज पब्लिक स्कुल, भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित एभरेष्ट इभरग्रिन इङलिस स्कुल र महेन्द्रनगरकै प्रकाश मेमोरियल स्कुलले पनि शतप्रतिशत नतिजा हासिल गरेका छन्।

महाकाली मोडर्न पब्लिक स्कुलका ४३, सनराइज पब्लिक स्कुलका ३१, एभरेष्ट इभरग्रिन इङलिस स्कुलका १५ र प्रकाश मेमोरियल स्कुलका ५ विद्यार्थी सबै उत्तीर्ण भएका हुन्।

त्यस्तै, बेलौरीको उग्रतारा बाल विद्यालयका २०, लिटिल गार्डेन इङलिस बोर्डिङ स्कुलका २८, दुर्गा बाल विद्यालयका ३४, सिद्धबाबा एकेडेमीका ७, वात्सल्य विद्या निकेतनका ४७ र पुनर्वासको नवयुग विद्या निकेतनका १७ विद्यार्थी सबै उत्तीर्ण भएका छन्।

शतप्रतिशत नतिजा हासिल गरेका विद्यालयहरूले विद्यार्थीको मेहनत, विद्यालयको निरन्तर शैक्षिक मार्गदर्शन तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताएका छन्।

सनराइज पब्लिक स्कुलका भ्वाइस प्रिन्सिपल पुरन चालिसेले विद्यार्थीको कडा मेहनत, शिक्षकको मार्गनिर्देशन र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनका अनुसार यस विद्यालयका जेनिस विष्ट र अनुप चन्दले ३.९१ जीपीए ल्याएका छन्।

महाकाली मोडर्न पब्लिक स्कुलका प्रिन्सिपल द्विजराज भट्टले विद्यालय प्रशासनको अनुशासन, नियमित अतिरिक्त कक्षा तथा शिक्षकहरूको समर्पणले राम्रो नतिजा आएको बताए।

उनका अनुसार सुबास कार्कीले ३.८२ जीपीए प्राप्त गरेका छन् भने १२ जना विद्यार्थीले ए प्लस, १८ जनाले ए र १३ जनाले बी प्लस ल्याएका छन्।

एभरेष्ट इभरग्रिन इङलिस स्कुलका प्रिन्सिपल प्रेमबल्लभ भट्टले विद्यार्थी, अभिभावक र शिक्षकबीचको त्रिकोणात्मक प्रयासको परिणामस्वरूप उत्कृष्ट नतिजा आएको बताए। उनले आगामी दिनमा पनि निरन्तर उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मणसिंह दियालले विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर शैक्षिक गुणस्तर सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए। उनले एसईई नतिजा सकारात्मक भए पनि परीक्षा प्रणाली अझै गुणस्तरीय र पारदर्शी हुनुपर्ने बताए।

यस्तै, उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशवसिंह विष्टले विद्यालयको निरन्तर शैक्षिक सुधार, शिक्षकको मेहनत र विद्यार्थीको लगनशीलताका कारण सफलता प्राप्त भएको बताए।

शतप्रतिशत नतिजा ल्याएका विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरू उत्साहित भएका छन्।

 

अन्तिम अध्यावधिक: ३१ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस